वृहस्पति अस्तसँगै माघ महिनाभरि शुभ कर्म गर्न वर्जित : के गर्न मिल्छ, के मिल्दैन ?

वृहस्पति अस्तसँगै माघ महिनाभरि शुभ कर्म गर्न वर्जित : के गर्न मिल्छ, के मिल्दैन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिक बाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । माघ ४ गते आइतबार मध्याह्न ११. ५८ बजे पश्चिममा अस्त भएका गुरु फागुन २ गते आइतबार पूर्वमा उदाउने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

यसैगरी माघ ३० गते शुक्रबार बिहान ७.६ बजे शुक्र पनि पूर्व अस्त हुने उनले बताए । शुक्र यो वर्षभर नै उदय नहुने समितिले जनाएको छ । विसं २०७८ मा कहिले शुक्र उदय हुने भन्ने विषयमा पात्रो (पञ्चाङ्ग) स्वीकृत नभएकाले अहिले भन्न नसकिने जनाइएको छ । वृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्म मात्र गर्नु हुने तथा कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ ।

यो वर्षका बाँकी तीन महिना नित्य रुपमा गरिने स्नान, पाञ्चायन पूजा, दिवङ्गत हुनेको नाममा गरिने काजक्रिया, बच्चा जन्मनेको जातकर्म मात्र गर्नु हुने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । “वृहस्पति र शुक्र अस्त हुँदा गरिएका कर्मले ब्राह्मणलाई दक्षिणा त प्राप्त होला तर कर्ता (यजमान) लाई फल प्राप्त हुँदैन, वृहस्पति र शुक्र ग्रह बाल र वृद्ध हुँदा पनि काम्य कर्म अर्थात् कुनै कामनाले गरिने कर्म गर्नु हुँदैन”, धर्मशास्त्रविद् गौतमले भने ।

यी दुवै ग्रह अस्त हुनु तीन दिन अघिदेखि उदय भएको तीन दिनसम्म पनि कुनै कामना लिएर गरिने कर्म गरिँदैन । यी दुई ग्रह अस्त भएका बेला दान, महादान, गोदान, धान्य पर्वत दान, गृहारम्भ, गृह प्रवेश, लाख बत्ती बाल्ने, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्रीपूजा लगायत कर्म गर्नु हुँदैन । वृहस्पति र शुक्र अस्त भएकैले यस वर्ष माघ, फागुन र चैतमा विवाह एवं व्रतबन्धका लग्नसमेत छैनन् ।

Logo