अवैध युरिया बरामद

अवैध युरिया बरामद

केन्द्रबिन्दु
0
Shares

सिरहा । सिरहामा रासायनिक मलको अभाव रहेका बेलामा भारतबाट अवैध रुपमा ल्याएर लुकाई–छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर विक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आइतबार बिहान सो परिमाणको मल बरामद गरेको हो ।

बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उनको भनाइ छ । यस्तै प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १ सय ५३ पोका गुट्खा सहित सिरहा नगरपालिका–२० निवासी २० वर्षिय शिवकुमार यादवलाई पक्राउ गरेको छ ।–रासस

Logo