ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा प्रकरणमा आज थप २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ । 

यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ । यसअघि आइतबार विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन पक्राउ परेका थिए । 

ब्युरोको प्रहरी टोलीले केही दिनअघि उक्त प्रकरणमा थप चार जनालाई पक्राउ गरी अदालतबाट पनि म्याद थप गरिसकेको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको करिब १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले पनि अनुसन्धान गरिरहेको छ । 

Logo