कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ। सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले)ले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको थियो।
तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन्।असार मसान्तमा योजनाको भुक्तानी सिफारिसदेखि विभिन्न कामको चाप हुने समयमा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका हुन्।
नेकपा(एमाले) वडा कमिटी ८ र ९ ले संयुक्त रूपमा वडामा तालाबन्दी गरेका हुन्। गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख–उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ।
पीडित भण्डारीले वडाध्यक्षमाथि कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। वडाध्यक्षमाथि पीडितले कानुनी कारबाहीका लागि प्रशासनमा उजुरी गरे पनि हालसम्म दोषीलाई कारबाही नभएपछि तालाबन्दी गरिएको नेकपा(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले बताए।
राज्यशक्तिको आडमा वडाध्यक्षले पटक पटक दुर्व्यवहारका घटना घटाउँदा कारबाही नभएको उनको भनाइ छ। वडाध्यक्ष गुरुङले यसअघि गत फागुन दोस्रो साता आफ्नै वडाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको थियो। अध्यक्ष गुरुङले भने, ‘कुटपिटपछि प्रहरीमा निवेदन दिँदासमेत प्रहरीले जाहेरी लिन मानेनन्। दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुरक्षाको प्रत्याभूति नहुँदासम्म तालाबन्दी खुल्दैन।’
वडाध्यक्ष गुरुङले भने सामान्य भनाभन भएको विषयलाई राजनीतिकरण गरेर उचालिएको बताए। आफूले सडक योजनाको काममा ढिलाइ भएपछि चासो दिए पनि कुटपिट नगरेको उनको दाबी छ। उनले भने, ‘आर्थिक वर्षको अन्त्यसम्म पनि काम नसकिने देखेपछि चासो दिएको पक्कै हो। बारम्बार ताकेता गर्दा पनि काम भएन। पछि बाहिर सुन्दा आफ्नो मन खुसीले अर्कोलाई ठेक्का दिएको सुने। के भएको भनेर सोधपुछ गरेको हो, कुटपिट गरेको छैन।’
पीडित भण्डारीले आफू टिपर बनाउन वर्कसपमा रहेका बेला वडाध्यक्ष गुरुङले किन काम समयमै सम्पन्न नगरेको भन्दै एक्कासी हातपात गरेको बताए। आफ्नो ज्यानको असुरक्षा भएकाले आफूले निर्माणस्थलमा पुगेर काम गर्ने वातावरण नभएको उनको भनाइ छ।





























प्रतिक्रिया