तनहुँ ।
बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रियरुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए।
पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ । उनले भने, “हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ ।” शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए।
शुक्रबार बिहान अविरल वर्षात् परिरहेकाले सेतीनदीले काठेपुल नाघेर गएको छ । उनले भने, “केही समय वर्षात् लम्बिँदै गयो भने खतरा बढ्न सक्ने देखिएको छ ।” पछिल्लो विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानन्तरण गरिएको छ ।
त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बतीय क्याम्पमा स्थानान्तरण गरिएको शुक्लाण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि बङ्गुर र कुखुरा बगाएको भनिए पनि के कति परिमाणमा बगाएको हो भन्ने तथ्याङ्क नरहेको उनले बताए ।
वर्षातका कारण पृथ्वी राजमार्ग अन्तर्गत पर्ने ७२ किलोमिटर दूरीमा भने अहिलेसम्म कुनै अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको पूर्वी सिमाना मुग्लिन र पश्चिम सिमना कोत्रे क्षेत्रसम्म राजमार्ग सुचारु रहेको उनले बताए ।रासस





























प्रतिक्रिया