बागलुङमा लम्पी स्किनको औषधि र खोप वडा वडामा

बागलुङमा लम्पी स्किनको औषधि र खोप वडा वडामा

केन्द्रबिन्दु
0
Shares

बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ।

दुई हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा.ऋषिराम सापकोटाले बताए।

केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुका लागि खोप पठाएको छ। केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख वसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे। उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरेका थिए।

लम्पी स्किन रोगबाट बागलुङका एक सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन रोग लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक१ सय चार डिग्रीभन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो। एक दुई वटा गाईगोरु पालेका किसानको मा भन्दा व्यावसायिक गाई फार्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन्। बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांश उन्नत जातको गाई रहेको सापकोटाले बताए ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको हो। पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ। मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन्। अहिले पनि ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु बिरामी छन् । निसीखोलाका पाँच सय १३, गलकोट नगरपालिकाका एक सय ४२, बडिगाड गाउँपालिकाका एक सय ८१ र तमानखोलाका एक सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाई बिरामी छन्।

सङ्क्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए। भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको हो। सबैभन्दा धेरै सङ्क्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए।‘भाइरसबाट सर्ने यो रोग बिफरजस्तै हो’, सापकोटाले भने, ‘किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो सङ्क्रमण बढ्ने गरेको छ।’ गोठ फोहोर हुँदा पनि सङ्क्रमण बढी हुने गरेको बताइएको छ । यो रोग प्रायः गर्मी मौसम र भूगोलमा बढी हुने गरेको हो।

Logo