आवाजविहीनहरुको लागि आवाज बुलन्द गर्ने थलो बन्दै माइतीघर मण्डला

आवाजविहीनहरुको लागि आवाज बुलन्द गर्ने थलो बन्दै माइतीघर मण्डला

केन्द्रबिन्दु
0
Shares

माइतीघर मण्डला आवाजविहीनहरुको आवाजबुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ यसले अब २४सै घण्टा फुर्सद नपाउने भएको छ । 

माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछ्यानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ । पानीपर्दा ओत लाग्नको लागिपनि राम्रै व्यवस्था गरिएको छ । सहकारी पीडितहरु महिनौदेखि यही धर्ना कसेर बसेका छन् । 
 
संघीय शिक्षा ऐनको पक्षमा नाराबाजी गर्दै यहाँ हरेक दिन शिक्षकहरुको शिक्षाप्रेमीको नारावाजी घन्कने गर्छ । यस्तै, मिटरव्याज पीडितहरुले धर्ना कसेको त महिनौँ वितिसक्यो । यतिमात्र नभइ घर भित्रका मुद्दा लिएर माइतीघरमा धर्ना कस्नेहरु पनि कम छैनन् । 
 
अहिले यहाँ सामूहिक रुपमा चन्दा उठाएर सामूहिक मेस चलाइएको छ । मोबाइल चार्जको लागि पनि व्यवस्था मिलाइएको छ । सरकारले सिंहदरबार वरिपरिको ठूलो क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ । तर माइतीघरलाई भने त्यो निषेधले छुँदैन । त्यही भएर पनि माइतीघरमा आवाज हरेक दिन बुलन्द बनेर घन्कने गर्छ । 

विगत ११ महिनादेखि तलव नपाएका वनका कर्मचारीहरु पनि देशभरबाट आएर अहिले माइतीघरमा नै भेला भएका छन् । उनीहरुलाई तलवको मात्र चिन्ता छैन आफूहरुले दु:ख गरेर हुर्काएको वन पनि मासिने हो कि भन्ने चिन्ता छ । 
 
कतिपय मुद्दामा सरकारका वरिष्ठ मन्त्रीहरु नै आएर आन्दोलनरत समूह र व्यक्तिसँग भेटर समस्याको सम्बोधन गर्ने गरिएकोले पनि माइतीघरमा ‘चाम’ बढेको छ । सबैको मुद्दा नसुलिएला तर धेरैको मुद्दा यहाँ आइ पुगेपछि सुनुवाई पनि भएको छ । माइतीघर यसैले पनि दु:खमा परेका, पीडामा परेका र अन्यायमा परेकाहरुका लागि आवाज उठाउने भरपर्दा थलोको रुपमा विकसित भएको छ । 

Logo