त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा बाहिरिएको करिब १ सय किलो सुन प्रकरणको थप अनुसन्धानकाे जिम्मा सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिने भएको छ ।
सुन तस्करीको अनुसन्धान राजस्व छलीमात्रै नभएर अन्य अपराधमा पनि कसुर भएको भन्दै प्रहरीलाई जिम्मा लगाउनुपर्ने आवाज उठ्दै आएको समयमा सरकारले यसबारे छलफल अगाडि बढाएको हो । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेको बताइएको छ ।
यस प्रकरणमा हाल राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि विभागले सिआईबीलाई लेखेर पठाउने तयारी गरेकाे बताइएकाे छ ।
विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । स्कुटरको ब्रेक सुमार्फत उक्त परिमाणकाे सुन भित्रिएको थियो । बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ ।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन प्रकरणमा भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल पक्राउ परेका छन् । याे कम्पनी उनकै नाममा रहेकाे थियाे । त्यस्तै, विमानस्थल भन्सार कार्यालयका अधिकृत सन्तोष चन्दसहित खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलगायत पक्राउ परेका छन् ।































प्रतिक्रिया