विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ। फलेवास नगरपालिका-२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन पहिरोले पुरिएका हुन्। 

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन  पुरिएका हुन्। तीन कोठा पुरिए पनि आठवटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए। 

पहिलो पटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो। सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ।

“आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन”, उनले भने। जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन्। 

“जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ”, प्रअ शर्माले भने- “दुई तीनवटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ।” 

नौडाँडा-कार्कीनेटा-फलेवास-जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीनवटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए।

विद्यालयका आठवटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो।   

Skip This
Skip This
Logo