जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत भोजपुरको  भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ।

अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ। विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिए।

 भूकम्पका कारण अदालतका धेरै संरचना जीर्ण छन्। पुरानो शैलीमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दा दैनिक कार्य सम्पादनमा समेत समस्या रहेको घिमिरेले बताए।

पार्किङ सुविधा नहुँदा पनि बढी समस्या रहेको उनको भनाइ छ। कुनै मुद्दामा प्रतिवादीको सङ्ख्या धेरै भएको अवस्थामा कार्यालय परिसरमा उनीहरूलाई व्यवस्थापन गर्न समस्या रहेको छ। 

“पुरानो भवनका कारण सेवा प्रवाहमा समस्या छ”, घिमिरेले भने। छानो फेरेर सेवा प्रवाह गरिँदै आएको छ। भवन जीर्ण बनेको कारण यहाँका महत्त्वपूर्ण फाइल राख्न समस्या हुने गरेको छ। राम्रो कोठा नहुँदा इजलास सञ्चालनमा समेत कठिनाइ हुने गरेको उनी बताउँछन्। 

जग्गा खरिद गर्ने काम भए पनि भवन बनाउन बजेट अभाव रहेको श्रेष्तेदार घिमिरेको भनाइ छ। जिल्ला अदालतले हेर्न मुद्दाको क्षेत्र बढेसँगै न्यायका लागि अदालतसम्म आउने सेवाग्राहीको सङ्ख्या पनि बढेको छ। 

अदालतमा मुद्दाको सङ्ख्यामा बर्सेनी वृद्धि भइरहेको जिल्ला न्यायाधीश मनिराम न्यौपानेले बताए। एकचालीस वर्ष पुरानो भवन रहेकाले अहिलेको सेवाग्राहीको चापलाई धान्न समस्या रहेको उनको भनाइ छ।

उनले भने, “कतिपय मुद्दामा धेरै प्रतिवादी हुन्छन्। त्यस्तो अवस्थामा व्यवस्थापन गर्न कठिन हुने गर्छ। कार्यालय परिसर साँघुरो हुँदा आवतजावतमा पनि समस्या छ।” करिब डेढ रोपनी क्षेत्रफलमा बनेको दुई तले पुरानो भवनमा आठ कोठा छन्। नयाँ भवन निर्माणका लागि अदालतसँग सीमा जोडिएको चार रोपनी जग्गा खरिद गरिएको छ।  

Skip This
Skip This
Logo