बालसुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा, अन्यकाे खाेजी जारी

बालसुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा, अन्यकाे खाेजी जारी

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको बालसुधार गृहबाट भागेकामध्ये २७ जना अझै फरार रहेका छन् । फरार २२१ जनामध्ये १९४ जना पक्राउ परिसकेका छन् । 

आइतबार सुधार गृहमा रहेका एकको मृत्यु भएपछि उनका आफन्तहरु सोमबार विरोधमा उत्रिएको मौका छोपेर उनीहरु भागेका थिए । रामेछापका कमल बस्नेतको मृत्युमाथि आशंका व्यक्त गर्दै उनका आफन्तले बालसुधार गृहमा तोडफोड गरेपछि सुधार गृहमा रहेका  बन्दीहरू भागेका हुन् । 

भाग्नुअघि भएको झडपमा १२ सुरक्षाकर्मी र ६ बन्दी घाइते भएको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले अझै २७ जना पक्राउ पर्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘धेरै पक्राउ परिसकेका छन्, फरार रहेका अझै २७ जना पक्राउ पर्न बाँकी छन्, उनीहरुको खोजी कार्य तदारुकताका साथ भइरहेको छ, उनीहरु पनि पक्राउ पर्नेछन् ।’

सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केर भागेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेका छन् ।  

घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् ।

Logo