तस्विरमा हेर्नुहाेस्, घिन्ताङघिसी नाचसहित भक्तपुरमा गाईजात्राको रौनक

तस्विरमा हेर्नुहाेस्, घिन्ताङघिसी नाचसहित भक्तपुरमा गाईजात्राको रौनक

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको हाे । 

गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङ्घिसी नाच प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् । यस क्षेत्रका नेवार समुदायले हिजो जनैपूर्णिमा मनाएका र आज गाईजात्रा मनाएका हुन् । 

दिवङ्गत व्यक्तिको सम्झनामा आजदेखि नेवार समुदायमा  घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको यसअन्तर्गत जात्राका दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आज दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

घिनिताङ घिनिताङ घिन्ताङघिसी त्वाङ’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा देखिन्छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लो सहभागिता हुँदै आएको छ । पर्यटन प्रबद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए ।

घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ। 

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडाैँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराइएको थियो । 

 

 

 

 

 

 

 

 

 

Logo