रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ

रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन्।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए। सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हराएको यात्रु फेला 

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक  भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन्। आफ्नी माताको साथमा  गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई  मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए। 

उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए।

प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो।ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए।  शनिबार  धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी  फेला परेका हुन्।

दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे  पुगेका थिए। 

Logo