कान्ति बाल अस्पतालको लापरवाहीका कारण ६ वर्षीय बालकको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् । मकवानपुरकाे थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतकका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।
अस्पतालमा सोमबार बेलुका ५ बजे ‘इमर्जेन्सी’ लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भयो ।
उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररुपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारवाही हुनुपर्छ ।’
तर, अस्पतालका नवनियुक्त निर्देशक तथा डा.पङ्कज रायले भने बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् । उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालक पालो कुरिरहेका थिए । यसमा उपचारमा हेलचेक्र्याई भयो भन्ने कुरा सरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’































प्रतिक्रिया