काठमाडौं । सरकारले सलह किरालाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवाज निकालेर वा धुवाँ बालेर भएपनि सलहलाई बस्न नदिने अभियान चलाउन आग्रह गरेको हो ।
शनिबार भारतीय सीमा क्षेत्र नजिकका तराई जिल्लामा देखा परेको सलह किरा आइतबारसम्म काठमाडौं लगायतका पहाडी जिल्लामा पनि देखा परेको छ । मन्त्रालयले नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले बालीले छोपेर पनि बचाउन सकिने जनाएको छ । साथै टनेलभित्रको बालीलाई वरिपरिबाट छेक्नेगरी जालीले बेरेर पनि जोगाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर सुरक्षित राख्न सकिने बताए । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाइ केही दिन पर सार्दा पनि कम क्षति हुने उनको भनाइ छ ।
त्यस्तै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपु¥याएको बताए । किराले क्षति नपु¥याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उनको भनाइ छ । हावाको चाप नेपालतिर आएको अवस्थामा सलहको प्रकोप पनि आउन सक्ने सम्भावना बढ्न हुमागाईंले बताए ।
त्यस्तैगरी मन्त्रालयले विषादीको लागत राख्नुका साथै स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ । खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किरा बसेको देखिएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया