गुल्मी । गुल्मीमा पहिरोले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपल पोखरास्थित ६५ वर्षिया लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घरगोठसहित खेती गर्दै आएको जग्गासमेत बगाएको छ ।
रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिए । गोठमा रहेको एउटा भैँसी, एउटा दुहुँनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सुँगुर, एउटा बोकालगायत सबै गाईबस्तु पहिरोले बगाएको छ भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ ।
विस्थापित सोनारीको पाँच जनाको परिवारलाई अहिले जनज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरा प्रभावित परिवारलाई बलिथुम युवा क्लबले एक सेट पकाउने भाँडा दिएको छ । रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको ज्ञवालीले जानकारी दिए । सोनारीको घर नजिकै रहेका तीन घर पनि पहिराको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि विद्यालयमै व्यवस्थापन गरिएको छ ।–रासस





























प्रतिक्रिया