डोटी।
बालविवाह न्यूनीकरणका लागि यहाँका स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पछिल्लो समय जिल्लामा बालविवाह बढ्दै गएको छ ।
बालविवाह रोक्न स्थानीय सरकारले कठोर नीति अख्तियार गरेपनि पछिल्लो समय जिल्लामा बालविवाह घट्नुको साटो बर्सेनि बढ्दै गएको हो । बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले बर्सेनि लाखौँ रकम खर्च गरे पनि बालविवाह रोक्न सकिएको छैन । बालविवाह गरेकै कारण कयौँ डोटेली चेलीहरुले अकालमै ज्यान गुमाइसकेका छन् । पूण्य कमाउने नाममा जिल्लामा बर्सेनि बालविवाह हुने गरेको पाइएको छ । यहाँको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा मात्रै गएको तीन वर्षको अवधिमा १६३ वटा बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका सामुदायिक विकास केन्द्र (सीडीसी) डोटी नामक एक गैरसरकारी संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षण अनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा ०७३ सालमा ३८, ०७४ मा ५६ र ०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । त्यस्तै ०७३ वैशाखदेखि हालसम्म १३३ जना बालिका र २७ जना बालकको बालविवाह भएको सो संस्थाका सामुदायिक विकास परियोजना जिल्ला संयोजक एकराज बडूले बताए । बालविवाह समाज क्षेत्र वा जाति विशेषभन्दा पनि सबैमा समान रहेको पाइएको छ । यसरी पूण्यका नाममा बालविवाह गर्नेमा जनजाति पाँच, दलित ६०, क्षेत्री समुदायमा ९८ जना रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ ।
मुख्यतया बालविवाह परिवारको दबाब, मोबाइल तथा इन्टरनेटको प्रयोग, लहैलहैमा, गरिबी, राम्रो घर परिवार पाउँदा, चाँडो बिहे गर्ने मान्यता, मेला पर्वबाट भागेर जाने, भविष्य राम्रो हुने आशामा हुने गरेको पाइएको छ । उक्त वडामा हालसम्म परिवारको दबाबले ३१ जना, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरिब एक जना, राम्रो घर परिवार पाउँदा सात जना, चाँडो बिहे गर्ने मान्यतामा पाँच जना, मेला पर्वबाट भागेर एक जना, भविष्य राम्रो हुने आशामा एक जना तथा अन्य ८० जना गरी जम्मा १६३ जनाको बालविवाह भएको पाइएको जिल्ला संयोजक बडूले जानकारी दिए।
लडागतामा मात्र नभएर बालविवाह गर्नेहरुको जिल्ला भरीको सर्वेक्षण गर्ने हो भने करिब एक हजार भन्दा बढी तथ्याङ्क निस्किन सक्ने दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए । जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि आफ्नो नगरपालिकामा बालविवाह रोक्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बालविवाह र बालश्रमिक राख्नेविरुद्ध कडा रुपमा उत्रिने बताए ।
जिल्लामा बालविवाहले विकराल रुप लिँदै आएको स्थानीयवासी बताउँछन् । अशिक्षा तथा जनचेतनाको कमी तथा पछिल्लो समय बढ्दै गएको सञ्चार सम्पर्कका कारण पनि जिल्लामा बर्सेनि बालविवाह बढ्न थालेको आफूले पाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दलीपसिंह देउवाले बताए ।
जिल्लामा सञ्चार क्षेत्रको गलत प्रयोगले गर्दा बालविवाह र अपराधजन्य घटनाले बढी प्रोत्साहन पाएको उनको भनाइ छ । जिल्लामा रहेका नौ वटै स्थानीय तहले बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट वञ्चित गराउने निर्णय गरे पनि उक्त निर्णयको बेवास्ता गर्दै बालविवाह गर्ने कार्य जारी रहेको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए। उनले भने, “बालविवाह गर्ने पुरोहित र अभिभावकलाई कारवाही नगरेसम्म यहाँको बालविवाह अन्त्य हुने छाँटकाँट देखिँदैन, अब बालविवाह गर्ने र गराउने दुवैलाई कारवाही गर्नुपर्छ ।”रासस





























प्रतिक्रिया