पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा सञ्चालन भएको पाँचौँ मिछुर्लुङ दसैँ मेला सकिएको छ। यही कात्तिक ८ गतेदेखि सुरु भएको उक्त मेला कोजाग्रत पूर्णिमाको दिन समापन भएको हो।
तेस्रो नेत्र युवा संस्थाले दसैँको अवसर पारी मेलाको आयोजना गरेको थियो। मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी मेटल समूह भिमादले जितेको छ। शनिबार सम्पन्न फाइनलमा किहुँस्थित हुक्का समूहलाई पराजित गर्दै गण्डकी मेटल समूहले उपाधि जितेको हो। प्रतियोगितामा माझकोट समूह तृतीय भएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, २० हजार र दश हजार नगदसहित ट्रफी प्रदान गरिएको आयोजक संस्थाका सचिव अमृत थापाले जानकारी दिए। महोत्सव समापनका अवसरमा मौलिक कौरा र लोपोन्मुख झाम्रे नृत्य प्रस्तुत गरिएको थियो।
मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि प्रत्येक दसैँमा मेला आयोजना हुँदै आएको छ। महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहने बताए। मन्त्री आलेले ग्रामीण पर्यटन समृद्धिको आधार भएकाले यसमा सरकारको साथ रहने बताए।
उनले भने,“पर्यटनबाट समृद्धि सम्भव छ, त्यसमाथि ग्रामीण पर्यटन समृद्धिको आधार हो। सरकार पर्यटन प्रवर्द्धनका लागि सबै हिसाबले सहयोग गर्न सकारात्मक छ।” भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए।































प्रतिक्रिया