मुन्दु हत्याकाण्डः पोष्टमार्टम भएको चार दिन बितिसक्दा पनि पीडितले शव बुझ्न मानेनन्

मुन्दु हत्याकाण्डः पोष्टमार्टम भएको चार दिन बितिसक्दा पनि पीडितले शव बुझ्न मानेनन्

केन्द्रबिन्दु
0
Shares

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोष्टमार्टम भएको चार दिनबितिसक्दा पनि शव बुझ्न मानेका छैनन् ।

मुन्दु गाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो । प्रहरीले हालसम्म घटनामा संलग्नलाई प्रक्राउ गर्न सकेकोे छैन । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि कात्तिक ११ गते जिल्ला अस्पतालमा मृतकका आफन्त र प्रहरीले जिल्ला अस्पतालमा ल्याएका थिए । 

अस्पतालमा कात्तिक १२ र १३ गते पोष्टमार्टम भएको हो । मृतकहरुको पोष्टमार्टम भए पनि हालसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन नसकेको भन्दै पोष्टमार्टम भएको चार दिनपुग्दा समेत पीडितले शव बुझ्न नमानेका हुन् ।

कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । 

हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने आश्वासन दिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै पीडितन परिवारले असन्तुष्टि जनाएका छन् । 

घटनामा संलग्नलाई प्रक्राउ गरी कानुनी प्रक्रियामा नल्याउँदासम्म शव नबुझ्ने पीडितहरुको अडान रहेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष मृतक श्रीदेबीकाकाका खेम रावलले बताए । 

कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाललगायत घटनास्थल पुगेर घटनाबारे बुझेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे सबै प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको बताए ।

शवको पोष्टमार्टम भए पनि पोस्टमार्टम घरमा लामो समयसम्म राख्ने फ्रिजलगायत अन्य उपकरण नहुँदा शव गन्हाउन थालेको बताउँदै यसले अस्पताल क्षेत्रमा दुर्गन्ध फैलन थालेको जिल्ला अस्पतालका डाक्टर अर्जुन भामले बताए ।

Logo