सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पहिलो पेशी तोकेको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा सोमवारका लागि पेशी तोकिएको हो ।
हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिनमा नै सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ ।
भोलि शनिबार तथा पर्सी छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।
गत २७ गते कार्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि जनआक्रोश बढिरहेको बेला यी रिटहरु परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नु परेको सरकारको तर्क छ ।
तर, सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।





























प्रतिक्रिया