मुगुमा नगरबस सञ्चालनबाट स्थानीय हर्षित

मुगुमा नगरबस सञ्चालनबाट स्थानीय हर्षित

केन्द्रबिन्दु
0
Shares

मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ। 

बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्र सदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका-१४ बामा गाँउसम्म२२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो।
 
नगरपालिका भित्रका ३४ रुटमध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठवटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ। नगरबस सेवा सञ्चालन गर्न पालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरेको छ ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्तिमध्ये दुई बस्तिमा सडक पुगेको छैन। अन्यमा सडक पुगेपनि स्थानीयले निकै महंगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए। नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए। 

यसपछि जिपहरुले गमगढी देखी बाम गाँउसम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए। नगरबसले भाडादर आधा गरेको छ। अब स्थानीयले गमगढी देखी बाम गाँउ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरुले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए। 

उनले भने,‘पालिकाले आफ्नो सेवा मार्फत प्रतिब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ। यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौँ।’

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका१३ र १४ वडाका सर्वसाधरण हर्षित भएका छन्। आफ्नो गाँउबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडातिर्दै आएका थिए। नगरबस संचालनमा आएपछी दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा दङ्ग छन् छायाँनाथ –१४ का स्थानीय तिलक बुढा। 

उनले भने,‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो। यतिमात्रै होइन गाँउमा उत्पादितस्याउ,तरकारी बेचेर  केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भैयो।’

अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाईराहत हुने धारणा छाँयानाथ-१३ की सरस्वती रावतले राखिन्। नगरबस सचालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानिय समेतलाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए।

‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो। नगरबस सञ्चालनले मुगुका सर्वसाधरणमात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउने भएका छन्। छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानिय तह बनेको छ’ सांसद शाहीले भने। 

नगर प्रमुख बिष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगरबासीलाई  सहज यातायात पहुँचका लागि  पहल गर्ने प्रतिवद्धता अनुसार काम गरेको बताए। पाँच वर्षे कार्यकालमा चारवटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुईवटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए। 

Skip This
Skip This
Logo