रेडियो नेपालप्रति सञ्चारमन्त्री शर्मा असन्तुष्ट

रेडियो नेपालप्रति सञ्चारमन्त्री शर्मा असन्तुष्ट

केन्द्रबिन्दु
0
Shares

स्रोतसाधन पर्याप्त हुँदाहुँदै पनि रेडियो नेपालले अपेक्षित आर्थिक विकास गर्न नसकेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकी छन् । स्रष्टा र कर्मचारीलाई बेलामा पारिश्रमिकसमेत उपलब्ध गराउन नसक्ने अवस्था आउनुको कारण खोजी गर्नुपर्ने उनले बताइन ।

‘स्रष्टासँग गीत संगीत र रेडियो नेपाल’ विषयक राजधानीमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । सरकारी रेडियो भएकाले रेडियो नेपाल निजी क्षेत्रका रेडियोहरुका तुलनामा अत्यन्तै ठूलो स्रोत र साधन सम्पन्न छ । तैपनि आर्थिक रुपले सबल हुन नसक्नुको कारण खोजी गर्न आवश्यक भएको उनले बताइन् ।

उनले भनिन्, ‘अहिले जति पनि रेडियोहरु छन्, सीमित स्रोत साधनहरुको बीचबाट उनीहरुले गरेको विकास र अत्यन्तै ठूलो स्रोत र साधनका बीचबाट हामीले गर्न नसकेको विकास, यहाँ के अन्तरविरोध हो ? के को अन्तरविरोध हो ? त्यसको खोजी गर्न जरुरी छ ।’ कर्मचारीको तलब दिन पनि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको भन्दै यस्तो अवस्था सुधारका लागि कानुनी रुपमा सहज वातावरण बनाउन मन्त्रालय सधैं तयार रहेको पनि उनले बताइन् ।

उनले भनिन, ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्ने जस्तो हामी भयौं । सम्पत्ति छ तर त्यसलाई प्रयोग गर्न सकेका छैनौ । तलब दिन पनि हारगुहार गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यसलाई गहिरो समीक्षा आवश्यक छ । कानुनी रुपमा बाधा छ भने बाटो खोलौं, मन्त्रिपरिषबाट गर्नुपर्ने होकी मन्त्रालयबाट गर्नुपर्ने हो हामी यसका लागि तयार छौ ।’

पछिल्लो समय रेडियो नेपालले आफूलाई कसरी समयसापेक्षित गर्ने, कसरी आफूलाई अगाडि बढाउने र जनताको सञ्चार र मनोरञ्जनको साधन हो भनेर कसरी स्थापित गर्ने भन्ने बारेमा सोच्न आवश्यक भएको उनले बताइन् ।

टेलिभिजन, अनलाइनलगायतका विभिन्न प्रकारका सञ्चारमाध्यमहरुको विकास र उद्गमस्थल रेडियो नेपाल नै भएको भन्दै यसैबाट स्रष्टाहरुले आफ्नो विकास गरेको पनि उनको भनाइ थियो ।

Skip This
Skip This
Logo