जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो।
निषेधाज्ञाको समयमा भेला हुन, सभा तथा गतिविधि गर्न नपाइने बताइएको छ। नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ।
सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो।
मृतक जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै रहेका स्थानीयले बताएका छन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताए।































प्रतिक्रिया