सर्लाहीको बरहथवा घटनामा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालका अनुसार वरिष्ठ हवल्दार यादवलाई जिल्ला तानेर घटनाको छानबिन गरिरहेको हो । आन्दोलनकारीहरुले यादवले नै गोली चलाएको आरोप लगाएका छन् ।
नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो। परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन्।
शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शैयाको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए। त्यहीकारण वार्ता निष्कर्षमा पुग्न सकेन। घटनाका विषयमा गृह मन्त्रालयले पनि छानविन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन्।





























प्रतिक्रिया