काभ्रे ।
काभ्रेको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।
पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रेश्वर लगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको हो । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण आएको बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिकामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताए ।
पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताए । “पनौती क्षेत्रमा यति ठूलो बाढी वि.सं. २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो ।” कर्माचार्यले भने, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पुर्याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा ५ ख ३६८९ नं.को निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २०० मिटर तल बगाइ क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच बुधबार परेको अविरल वर्षाका कारण काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नं बाहिनी अड्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरिएको छ भने रोशी गाउँपाालिका वडा नं ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले सकुसल उद्धार गरेका छन् ।
बाख्रा चोरी गरेको आरोपमा गाडीसहित दुई पक्राउ
काभ्रेको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चोरीमा संलग्न दुई जनासहित दुई गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा १६ च ८८३० नं.को बोलेरो र बा १४ च ६८५७ नं.को बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रे जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।रासस































प्रतिक्रिया