महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने

महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौंं महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म पसल खोल्ने व्यवस्था मिलाउने भएको छ ।  महानगरको ४५ औँ कार्यपालिका बैठकमा सहभागी वडाध्यक्षहरुलाई आग्रह गर्दै काठमाडौंका महानगर प्रमुख बिद्यासुन्दर शाक्यले पसल खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले कोरोना विरुद्धको लडाइँमा आवश्यक पर्ने सामान प्राप्त गर्न महानगरको बाटो हेर्नु नपर्ने प्रष्ट पारेका छन । ‘कोषबाट पठाइएको रकमबाट आफैँ खरिद गर्न सक्नुहुन्छ, मेयर शाक्यले वडाध्यक्षहरुलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला ।’

महानगर प्रमुख शाक्यको अध्यक्षतामा बसेको बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव वडाध्यक्षहरुले दिएका छन् । महानगर प्रमुख शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वयमा किनमेलको व्यवस्था मिलाउन आग्रह गरे । बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका विषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।

त्यस्तैगरी कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए । खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनको भनाइ छ । कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा सेवा दिनका लागि काठमाडौं महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवाले लकडाउन अवधिमा २ सय २१ लाई सेवा दिएको छ ।

प्रमुख शाक्यले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निशुल्क सेवा दिएको पनि जानकारी दिए । लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएका छन ।

बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ ।

त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ । बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लानुपर्नेमा जोड दिए । बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दूरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

Skip This
Skip This
Logo