विपद्को बेला सहकारीले सदस्यको हितमा काम गर्न सकेनन्– सचिव न्यौपाने

विपद्को बेला सहकारीले सदस्यको हितमा काम गर्न सकेनन्– सचिव न्यौपाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी संस्थाहरुले संकटका बेला आफ्ना सदस्यहरुको हितमा काम गर्न नसकेको बताएका छन् । सहकारी पत्रकार समाजले आयोजना गरेको महामारीका बेलामा सहकारी सदस्यहरुको भूमिका विषायक भिडियो कन्फरेन्समा बोल्दै सचिव न्यौपानेले सो कुरा बताएका हुन् ।

मुलुकमा लकडाउन भएको बेला सदस्यहरुलाई दाल, चामल, तरकारी तथा अन्य उपभोग्य वस्तुको आवश्यकता परेको हुन्छ । त्यस्तै, मास्क, सेनेटाईजर लगायतका वस्तु आवश्यक पर्ने भएपनि ती आवश्यकताका बारेमा कुनै पनि सहकारीले सोधखोज नगर्नु दुःखद भएको उनको भनाइ छ । उनले भने–‘विपद्का बेला सहकारीहरुले आफ्ना सदस्यको हितमा काम गर्न सकेनन् । जुन विषयका सहकारी हुन यस्तो बेला त्यसैमा मात्र केन्द्रीत भएर हुँदैन । सदस्यको आवश्यकता हेरेर काम गर्नु पर्दछ ।’

असामान्य परिस्थितिमा पनि जे विषयका सहकारीहरु हुन त्यसैमा नै केन्द्रित भएको बचत तथा ऋणले बचत तथा ऋणको मात्रै, कृषिले कृषिको मात्रै वा अन्य विषयगत संघले त्यसमा मात्रै केन्द्रित भएर काम गरेको उनको आरोप छ ।

तर, यस्तो संकटको बेला सदस्यहरुलाई के के आवश्यकता पर्छ भन्ने कुरामा ध्यान दिएर काम गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, जिल्लामा रहेका सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणमा समेत ध्यान दिन उनको आग्रह छ ।

कृषकले उत्पादन गरेको तरकारी, दुध लगायत कृषिजन्य उत्पादन पछि विक्री गर्ने अवस्था नभएकाले सहकारीले बजारीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यस्तो संकटका बेला सहकारीको निर्देशन अनुसार काम गर्ने भन्दा पनि संकटलाई मध्यनजर गर्दै काम गर्ने बेला भएको उनले बताए ।

Logo