रुपन्देही।
कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा क्षेत्र बाँकेको जमुनाहस्थित दशगजा र रुपन्देहीको सीमा बेलहियास्थित भारत, नौतनहवा क्वारेन्टाइनमा बसेका २८२ नेपालीलाई शुक्रबार घर फर्काएको छ ।
नौतनहवास्थित क्वारेन्टाइनमा बसेका ३४६ नेपालीमध्ये शुक्रबार १०१ नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, अर्घाखाँची, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलगायतले दशगजामा स्वागत गरेका थिए । नौतनवाका तीन क्वारेन्टाइनमा नेपालीलाई २५ दिनदेखि राखिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार शनिबारसम्म २९८ जनाले नेपाल प्रवेशको अनुमति पाएका छन् । उनीहरु पहिलो चरणमा क्वारेन्टाइन बसेका हुन् । अन्यलाई केही दिनमै फर्काइनेसमेत प्रजिअ पन्थले बताए । नेपाल आएकामध्ये ३४ जना मालारानी गाउँपालिकाका छन् । उनीहरुलाई लिन आफैँ सीमामा आएका गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा अझै १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने बताए ।
गाउँपालिका अध्यक्ष सीमामा आफूहरुलाई लिन आएको देखेर खुशीले गद्गद् भएका मालारानीका बुद्धबहादुर केसीले भने, “जीवनमा पहिलोपटक सरकार प्रमुख नै लिन आउनुभएको छ । सरकारले हामी जस्ता मजदूरका लागि गरेको सहयोग कहिल्यै बिर्सँदैनौंँ ।”
गुल्मी धुर्कोट नयाँगाउँका अनिल खत्रीले पनि भारतीय क्वारेन्टाइनको बसाइ राम्रै रहेको बताउँदै नेपाल सरकारले जनताप्रति देखाएको चिन्ताले राज्यप्रति गौरव सिर्जना भएको प्रतिक्रिया दिए । नेपाल प्रवेश गरेकामा अर्घाखाँचीका ४२, गुल्मीका ३०, तनहुँका सात, पाल्पा र रुपन्देहीका पाँचपाँच, बागलुङका चार, कपिलवस्तु र धादिंङका दुईदुई तथा स्याङ्जा, जाजरकोट, खोटाङ र मोरङका एकएक जना छन् ।
जमुनाहबाट फर्के १८१
राँझा–बाँकेको जमुनाहस्थित दशगजाक्षेत्रको एकान्तबासमा बस्दै आएका १८१ नागरिकलाई घर पठाइएको छ । भारतका विभिन्न स्थानबाट घर फर्किँदै गरेका उनीहरुलाई कोरोना सङ्क्रमणको रोकथामका लागि नेपाल–भारत सीमाक्षेत्र जमुनाहमा निर्माण गरिएका अस्थायी एकान्तबासमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो ।
एकान्तबासमा रहेका सबैको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो । उनीहरुलाई २३ औंँ दिन स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा घर पठाइएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
गत चैत १८ गते नेपालगञ्ज नाकामा आइपुगेका उनीहरुलाई १९ गते दशगजा क्षेत्रमै पालको अस्थायी एकान्तबास बनाई बस्ने व्यवस्था गरिएको थियो । पन्ध्र दिन एकान्तबासपछि सबैको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएपछि एक हप्ता अघि वैशाख ४ गते उपमहानगरपालिकाले दशगजा क्षेत्रमा बस पु¥याएर सबैलाई घर पठाउने तयारी गरिरहेका बेला बाँके जिप्रका र गृह मन्त्रालयले उनीहरुलाई तत्काल घर पठाउन नमिल्ने भन्दै रोक लगाएको थिए ।रासस





























प्रतिक्रिया