झापामा ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौं’ : अभियान सुरु

झापामा ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौं’ : अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

झापा ।
“स्थानीय सरकारका प्रतिनिधि अहिले राहतका पोका बोकेर गाउँगाउँ हिँडिरहेका छन्, सरकारले अहिले राहत बाँड्ने होइन, सबै नागरिकको स्वास्थ्य परीक्षण गर्ने हो”, विर्तामोड नगरपालिका–२ चारपानेका सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भने, “एक परिवारले एक विपन्न परिवारलाई सहयोग गर्यो भने झापामा कोही पनि भोकै मर्दैनन् ।”

झापाका ६८ सामाजिक सङ्घसंस्थाको साझेदारीमा समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्दै दुई करोड जुटाएर कनकाइमाईको पूर्वी तटमा कर्मयोग भवन (मृत्युपछि गरिने अन्तिम संस्कार) निर्माण गर्दै उदाहरणीय काम गरेका गिरीले अहिले पनि ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान शुरु गरेका छन् ।

गरिब तथा विपन्न परिवारका नागरिकलाई रोगबाट बचाउन उनीहरुको उपचारका लागि जिल्लास्तरीय रुपमा १० करोडको कोष खडा गर्ने गरी ‘सङ्कल्प अभियान’को घोषणा गर्दै समर्पण राष्ट्रिय अभियान सञ्चालन गरेका गिरीले विषम परिस्थितिमा झापाका कोही पनि नागरिक भोकभोकै मर्न नपरोस् भन्दै यो अभियान शुरु गरेको बताए ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशकसमेत रहेका गिरीले यसअघि सहारा नेपालकै अगुवाइमा ‘सङ्कल्प अभियान’ घोषणा गरेका थिए । उनकै अगुवाइमा समर्पण राष्ट्रिय अभियानमार्फत कनकाई नगरपालिकास्थित कोटीहोममा अहिले सुविधासम्पन्न कर्मयोग भवन निर्माणाधीन छ । तीन चरणमा निर्माण सम्पन्न गरिने भवनको अहिले पहिलो तला निर्माण सम्पन्न भएको छ । रु १० करोडको लागतमा निर्माण सम्पन्न हुने भवनको पहिलो चारणमा रु दुई करोडको लागतमा चार परिवारलाई काजक्रिया गर्न मिल्ले गरी १६ कोठा, कार्यालय र सर्पदंश उपचार केन्द्रसमेत स्थापना गरिएको छ । जहाँ सर्पदंशका बिरामीले सेवा लिइरहेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन अहिले मुलुक झण्डै एक महिनादेखि लकडाउन भएपछि विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले गिरी नै कार्यकारी निर्देशक भएको सहकारी (सहारा नेपाल) ले रु ५० लाख प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै राहत कोषमा जम्मा गरेको छ । सो रकमबाट विपन्न परिवारका लागि राहत सामग्री र क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, पिपिइ, पञ्जा जस्ता स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ ।

कतिपय स्थानीय तहले एकद्वारा प्रणालीबाट राहत सामग्री वितरण गर्दा वास्तविक विपन्न परिवार अझै पनि समस्यामा रहेको भन्दै गिरीकै अगुवाइमा अहिले झापामा यो अभियान शुरु भएको बताइएको छ । अभियान अन्तर्गत एक हजार परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, तेल, नुन, साबुन लगायतका दुई हजारको सामग्री प्रदान गरिने अभियान संयोजक गिरीले बताए । उनका अनुसार मेचीनगरपालिकाको काँकडभिट्टाबाट दमक नगरपालिकाभित्रका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरिन्छ । राहत सामग्री वैशाख १६ गतेदेखि वितरण गर्ने कार्यक्रम रहेको र ‘एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ’ अभियान अन्तर्गत सहयोग सङ्कलन शुरु गरिएको गिरीले बताए ।

“एक हजार परिवारलाई राहत वितरण गर्न रु २० लाख खर्च हुन्छ, यो ठूलो कुरा भएन, मैले अभियान घोषणा गरेसँगै धेरैजसो महानुभावहरुले एक महिनाका लागि ५० परिवार पाल्ने घोषणासमेत गरेका छन् । जसका लागि सहयोग जुट्न थालेको छ”, गिरीले भने, “अभियान घोषणासँगै स्वःस्फूर्तरूपमा सहयोग गर्ने दाताहरु सम्पर्कमा आएको र सहारा नेपाल सहकारी संस्थामा छुट्टै टोलीको व्यवस्थापन गर्दै सहयोग सङ्कलन शुरु गरिएको छ ।

उनका अनुसार सहारा नेपालमा रहेका ५०० कर्मचारीमा एक जनाले दुई जना दातालाई भन्ने हो भने एक हजार दाता त कर्मचारीले नै जुटाउँछन् । स्वःस्फूर्तरूपमा सहयोग गराउन र विपदमा परेकालाई सेवा गर्नुपर्छ भन्ने भावना जागृत गराउन अभियान घोषणा गरेको उनको भनाइ छ ।

सरकारले विपद्को पर्याप्त पूर्वतयारी नगर्दा एकैपटक समस्या आएको उनले बताए । “झापामा २० प्रतिशत अतिविपन्न परिवार होलान्, उनीहरुलाई हुनेखाने परिवारले मात्रै मन गर्ने हो भने महिना दिन पुग्ने गरी सहयोग गर्न सक्छन्”, उनले भने, “अहिलेको समय सरकारलाई सबैले सहयोग गर्ने समय हो, यो बेला सरकारलाई सहयोग गरेको खण्डमा नेपालले ठूलो आर्थिक भार बेहोर्नु पर्दैन ।”

फेसबुकबाट अभियान घोषणा, सहयोग गर्नेको लर्को

जिल्लाका २५ स्थानमा एक हजार विपन्न परिवारलाई राहत सामग्री वितरण गर्ने सोचका साथ सामाजिक अभियानकर्मी गिरीले एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ अभियान दुई दिन अघि घोषणा गरे । अभियान घोषणासँगै दाताले सहयोग गर्न आफू पनि इच्छुक रहेको भन्दै अहिले नगद र जिन्सी जम्मा गर्न शुरु गरेका छन् । सहारा नेपाल सहकारी संस्थामा सचिवालय बनाएर अहिले धमाधम सहयोग सङ्कलनको काम भइरहेको छ । गिरीले भने, “एक हजार परिवारका लागि चलाएको अभियानबाट दुई–तीन हजार परिवारलाई नै खाद्यान्न सहयोग गर्न सकिएला जस्तो छ ।”

“यो बेला हामी झापालीले सरकारलाई राहत बाँड्न होइन, अस्पताल बनाउन र सबै मानिसको स्वास्थ्य परीक्षण गर्न सल्लाह दिने हो”, गिरीले भने, “एक पालिकामा न्यनूतम ५० शैयाको अस्पताल र विशेषज्ञ चिकित्सकको व्यवस्था भयो भने हामीले निःशुल्क स्वास्थ्य सेवा पाउँछौँ ।”

अभियानको चौतर्फी चर्चा

नागरिकस्तरबाट स्वःस्फुर्त राहत सङ्कलन गर्दै विपन्न परिवारलाई राहत सामग्री वितरण गर्नु अत्यन्त सराहनीय कार्य भएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा बताउँछन् । “सरकारले एकद्वारा प्रणालीबाट राहत वितरण गर्छु भन्दै छ यस्तो अवस्थामा दातामा निराशा छाउन सक्छ यसतर्फ सरकार गम्भीर हुनुपर्छ” उनले भने, “गाउँ टोलमा कोही व्यक्ति वा परिवार भोकले छट्पटाएको छ भने त्यहाँ सरकारभन्दा पहिला छिमेकी पुग्छ, तसर्थ विपन्न परिवारका लागि नागरिकस्तरबाट सहयोग गर्नु उदाहरणीय कार्य हो ।”

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले यस्तो कार्यलाई सही कार्यान्वयन गर्दै लैजाने हो भने देशकै उदाहरणीय काम हुने बताए । वास्तविक राहत पाउने परिवारको पहिचान गर्दै राहत सामग्री अहिले पनि स्थानीय तहले वितरण गर्न नसकेको र आफूले पहिलेदेखि नै यसखाले अभियान सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएको ढकालको भनाइ छ ।रासस

Logo