काठमाडौं ।
लकडाउनका बाबजुद पनि नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आउन थालेपछि उपत्यका नगरपालिका फोरमले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँगको छलफलका क्रममा यस्तो आग्रह गरेको हो ।
‘हामी लकडाउनको पूर्ण समर्थन गर्दछौँ’–‘नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने–‘लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत प्रतिबन्द गरेको अवस्थामा तपाईँहरु जो जहाँ रहनु भएको छ, त्यहि सुरक्षित बस्नुहोला हामी सहयोग गछौँ ।’
प्रमुख शाक्यले उपत्यकामा रहेका अतिविपन्न, असाहय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई भोकै नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘अहिले दैनिक दर्जनौँ मानिस भोकभोकै भएकाले उपत्यका छाड्न थालेको भन्ने समाचार विभिन्न सञ्चार माध्ययमबाट आइरहेका छन् । ती समाचारप्रति हाम्रो ध्यान पुगेको छ’–प्रमुख शाक्यले भने–‘नगरपालिका फोरमको अध्यक्ष र काठमाडौं महानगर प्रमुखको हैसियतले उपत्यकावासीलाई भन्न चाहन्छु । तपाईँहरुलाई केही समस्या छ भने उपत्यकाका सबै नगरपालिकाहरुको वडा कार्यालयमा सम्पर्क गर्नुहोला । हामी राहतको व्यवस्था गर्न तयार छौँ । कतै भोकै परेको जानकारी छ भने टोल फ्री न. ११८० र ११३१ मा जानकारी दिनुहोला हामी समाधान गर्छौ ।’
उनले उपत्यका बाहिर रहेकाहरुलाई पनि लकडाउन अवधिभरी उपत्यका भित्र प्रवेश नगर्न आग्रह गरेका छन । ‘तपाईँहरु जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुहुन अनुरोध छ’– उनले भने–‘हामी सबै मिलेर लकडाउनको पूर्ण पालना गर्न सक्यौँ भने मात्रै कोरोना नियन्त्रण र रोकथाम गर्न सक्छौँ ।’
त्यस्तै मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । ‘यस्तो प्रतिकुल अवस्थामा पनि काठमाडौं उपत्यका छाडि सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’–श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेका छन् उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरण गरेको विदितै छ ।’































प्रतिक्रिया