नदीमा हाम फालि नेपाल आएका ३३ जना क्वारेन्टाइनमा

नदीमा हाम फालि नेपाल आएका ३३ जना क्वारेन्टाइनमा

केन्द्रबिन्दु
0
Shares

कोयल पन्त

दार्चुला ।

महाकाली नदीमा पौडेर नेपाल छिरेका ३३ जनालाई नेपाली नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सीमानाका बन्द गरेपछि अलपत्र परेका उनीहरुले नदीमा हाम फालेर नेपाल प्रवेश गरेका थिए । अहिले उनीहरुलाई दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ स्थित श्री शंकरपुर पस्ती क्याम्पस भवनको क्वारेन्टाइनमा राखिएको छ ।

सीमामा नेपाल भारत जोड्ने सबै झोलुंगे पुल दुवै तर्फबाट बन्द अवस्थामा रहेका बेला उनीहरु नदीमा हाम फालेर नेपाल छिरेका हुन् । उनीहरुमा कोरोनाको जोखिम हुनसक्ने भन्दै क्वारेन्टाइनमा राखिएको मालिकार्जुन गाउँपालिका ८ का वडाअध्यक्ष पदम पन्तले जानकारी दिए । महाकाली नदी पार गरी लुकिछिपी घर जान खोज्दा प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पठाएको वडाअध्यक्ष पन्तको भनाइ छ ।

क्वारेन्टाइनमा दार्चुलाको मार्मा गाउँपालिका तथा अपि हिमालक्षेत्र, बैतडीको पुरचौँडिहाट नगरपालिका तथा डिलासैनी गाउँपालिका र बझाङको बुङ्गल नगरपालिकाका नागरिकहरु रहेका छन् । उनीहरुलाई मालिकार्जुन गाउँपालिकाले खाद्यान्नको व्यवस्था गरी रहेको वडाअध्यक्ष पन्तले बताए ।

आफ्ना नागरिकलाई अहिलेसम्म सीमानाकाबाट उद्दार गर्न नसकेको भन्दै भारतको धारचुलामा नेपाली नागरिकले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

Logo