महानगरद्धारा एक महिनाभित्र विदेशबाट फर्किनेको विवरण संकलन

महानगरद्धारा एक महिनाभित्र विदेशबाट फर्किनेको विवरण संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगरमा बसोवास गर्दै आएकाहरुको विवरण संकलन गरेको छ । महानगरले विश्वव्यापी रुपमा फैलिएको नोवेल (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन विवरण संकलन गरेको हो ।

विदेशबाट फर्केका नेपालीहरू सतर्क र सचेत नभए सबैभन्दा पहिला आफ्नै परिवारको स्वास्थ्यमा खतरामा हुने र त्यसपछि छरछिमेकीलाई असर पार्ने भन्दै विवरण संकलन गरेको महानगरले जनाएको छ । अहिलेसम्म महानगरभित्र बस्ने १ सय १७ जनाको विवरण संकलन गरिएकोे छ । विशेष गरी भारतबाट फर्र्किने नेपाली नागरिकहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई पालना गर्नका लागि महानगरले यस्तो विवरण संकलनको कामलाई तीव्र रुपमा अघि बढाएको जानकारी दिएको छ ।

महानगरले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर पछिल्लो एक महिनामा विदेशबाट फर्किएर महानगरभित्र बसोवास गर्दै आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार नमुना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने तयारी गरेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार उपत्यका नगरपालिका फोरमको आजको बैठकले पनि यसरी विदेशबाट फर्किइ उपत्यकाभित्र बसोवास गर्नेहरुको विवरण संकलन गरी नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै शाक्यले कतिपय अवस्थामा विदेश भ्रमण गरेर फर्किएकाहरुलाई अपराधीको जस्तो व्यवहार हुने गरेको भन्ने सुन्नमा आएकाले महानगरले टोलटोलमै पुगेर विवरण संकलन गरी परीक्षण गर्ने कामलाई अघि बढाएको बताए ।  ‘सकेसम्म कसैलाई पनि कोरोना संक्रमण नहोस भन्ने हाम्रो कामना छ’–शाक्यले भने–‘यदि कसलैलाई त्यस्तो देखियो भने पनि उहाँहरुलाई अपराधीको जस्तो व्यवहार गर्ने होइन, उपचार गर्ने व्यवस्था गर्नुपर्छ ।’

आइतबारसम्म विवरण संकलन गरेका १ सय १७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार, फ्रान्स, अष्ट्रेलिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशबाट आएकाहरुको पनि विवरण संकलन गरिएको छ । यसरी विवरण संकलन गरेका मध्ये कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको जनाइएको छ ।

Logo