धादिङ।
उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन् । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिए । दिउसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छिन् । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
रुकुमपश्चिम
यता रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो । चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए ।रासस





























प्रतिक्रिया