काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम गर्न सरकारले उच्च सतर्कता अपनाउँदै देशैभर एकसाथ लकडाउन गरेसँगै सवारी पास लिनेको भीड बढेको छ । सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउनलाई थप गरी आगामी चैत्र २५ गतेसम्म लम्बाएपछि सवारी पास लिनेको भीड लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास दिँदै आएको थियो । प्रशासनमा पास लिनेको भीडभाड बढ्नथालेसँगै भाइरसको संक्रमण फैलिन सक्ने भन्दै थप ठाउँबाट पास उपलब्ध गराइने भएको छ ।
प्रशासनले सोमबार सूचना जारी गर्दै आकस्मिक सवारी पास मात्र प्रशासनबाट वितरण गरिने उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रसेवक कर्मचारीहरुका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा खाद्य वस्तुलगायतका दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास लिन सकिने छ ।
त्यस्तै पत्रकारहरुले प्रेस पास लिनुपर्ने भएमा प्रेस काउन्सिलबाट पास जारी हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि प्रशासनबाट वितरण गरिएको पासको म्याद सोमबारसम्म लागू हुने जनाइएको छ ।
































प्रतिक्रिया