२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र सोही गाउँपालिका ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनीहरुलाई २५ लाख ५० हजार बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। उनीहरुले सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गरी पटक पटक नगदै लिई, बैंक खातामा जम्मा गर्न, बिभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाई बिभिन्न बहानामा २५ लाख ५० हजार लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

अख्तियारको सुर्खेतबाट गएको टोलीले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष केसी र जनता आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतलाई आठ लाख घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अध्यक्ष केसी र प्रधानाध्यापक बस्नेतलाई बिगो ८ लाख कायम गरी अर्को मुद्दासमेत अख्तियारले दायर गरेको छ।

यस्तै आयोगले जनस्वास्थ्य कार्यालय धादिङका कार्यालय सहयोगी हरिबहादुर हमाल तथा लेखनदास नारायण श्रेष्ठविरुद्ध पनि विहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचारको अभियोगमा कारवाहीमा परेका उनीहरुलाई जिल्ला जनस्वास्थ्य प्रमुख डा नरेशप्रताप केसीले भुक्तानी दिएको पाइएपछि आयोगले पुनः मुद्दा दायर गरेको हो ।

आयोगले कार्यालय सहयोगी हमालविरुद्ध ३४ लाख ३३ हजार ६८६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै गलत सिफारिश गर्ने तत्कालीन वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्लविरुद्ध १४ लाख ७० हजार ३७९ बराबरको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।रासस

Logo