वाग्मती प्रदेश : मानव अधिकार उल्लङ्घनका घटना वृद्धि

वाग्मती प्रदेश : मानव अधिकार उल्लङ्घनका घटना वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
वाग्मती प्रदेशमा विगतको तुलनामा मानवअधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको छ । अनौपचारीक सेवा केन्द्र वाग्मती प्रदेशद्वारा (इन्सेक) जारी विवरण अनुसार सन् २०१९ मा वाग्मती प्रदेशमा एक हजार ४९४ मानव अधिकार उल्लङ्घनका घटना भएको छ । सन् २०१८ मा सो प्रदेशमा ८१९ मानव अधिकारका उल्लङ्घन घटना भएको थियो ।

तुलनात्मक रुपमा २०१९ मा मानव अधिकार उल्लङ्घनका घटना अत्यधिक भएको देखिन्छ । सो अवधिमा राज्यपक्षबाट २१७ जना पीडित भए भने अन्य पक्षबाट एक हजार २७७ जना पीडित भए । त्यस्तै २५३ बलात्कारका घटना भएको छ ।

प्रदेशमा महिला तथा बालबालिकामा बलात्कारका घटना ३८६ वटा भएकामध्ये बालबालिकाको सङ्ख्या ६५ प्रतिशत छ । इन्सेकको जारी तथ्याङ्कमा प्रदेशका १३ मध्ये काठमाडौँ र चितवनमा सबैभन्दा बढी बलात्कारका घटना भएका छन् ।

काठमाडौँमा गत आर्थिक वर्षमा ९७ जना बालिका र ६४ जना महिला बलात्कार भएको जनाइएको छ । चितवनमा २९ बालिका र १६ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, भक्तपुरमा २१ बालिका र ११ महिला बलात्कार भएको उल्लेख छ । मकवानपुरमा एक वर्षमा १८ बालिका र नौ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला बलात्कार भएको वाग्मती प्रदेश इन्सेक संयोजक कृष्ण गौतमले जानकारी दिए ।

त्यस्तै दोलखामा नौ बालिका र तीन महिला, काभ्रेमा नौ बालिका र तीन महिला, नुवाकोटमा १० बालिका र पाँच महिला, सिन्धुलीमा नौ बालिका र पाँच महिला, धादिङमा आठ बालिका र एकजना महिला बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ । रामेछापमा दुई बालिका र एक महिला, रसुवामा दुई बालिका एक वर्षको अवधिमा बलात्कार भएको हो । संयोजक गौतमका अनुसार चेतना जागृत भएका कारण घटना सार्वजनिक हुँंदै आएको हो ।
रासस

Skip This
Skip This
Logo