छाउगोठ भत्काइएकोमा सांसदद्वारा गम्भीर आपत्ति (भिडियोसहित)

छाउगोठ भत्काइएकोमा सांसदद्वारा गम्भीर आपत्ति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभाका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप पनि लगाए । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको आरोप पनि उनले लगाए ।

महतले भने “हाम्रो गाउँ घर तिर उखान छ । काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काईएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउदै हिड्ने ? हजारौं मान्छेहरु बसमा मृत्यु भएको छ, बस भत्काउदै आगो लगाउदै हिड्ने ? यो पनि तरीका हुन्छ ? चाहिंदो काम गर्नुपर्यो नि । जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनु छैन । पुलको बेहाल छ, बाटोको बेहाल छ ,उनीहरुलाई समाउनु छैन । ठेकदार कहाँ छ कहाँ छ थाहा छैन , तीनलाई कारवाही गर्नुपर्दैन ? स्कुलको अवस्था के छ । अस्पतालको अवस्था के छ ? त्यो हेर्नु पर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृह मन्त्रालय ? काम पाएको छैन यसले ?”

उनले छाउगोठ भत्काएकोमा विरोध गर्दै आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हाँसोले गुञ्जयमान भएको थियो । छाउगोठको अन्त्य गरिनुपर्ने भन्दै कुरा उठाउने महिला सांसदहरु पनि हासिरहेका थिए । शुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आआफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरे । उनले भने “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एयरपोर्टको तल्लो क्षेत्रमा रहेका हजारौं हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ? विस्तृत प्रतिवेदन सार्वजनिक गरियोस् । मध्यपहाडी लोकमार्ग कास्कीको रुदीखोलादेखि भंसेसम्मको टेण्डर किन रोकिएको छ । त्यो तुरुन्त खुलाईयोस् । रुपाताल परियोजनाको सम्पूर्ण कार्य सञ्चालन गरियोस् । ”

त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दु कुमारी शर्माले चुरे दोहन उत्खनन् रोक्न माग गरिन् । सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउँपालिका निवासी २२ बर्षका हेम बहादुर राउतलाई पक्राउ गरि कोटेश्वर प्रहरी वृत्तमा रहेको अवस्थामा मृत्यु भएको भन्दै घटनाबारे अध्ययन गर्न छानविन समिति गठन गर्न माग गरिन् । उनले दोषीलाई कारवाही गरि पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिन् । सांसद कुमारी तुलसी थापा हिउँदे बालीमा तुषारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

Logo