काठमाडौं ।
केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभाव काठमाडौंमा सोमबारदेखि उच्च देखिएको छ । सोमबार विहान काठमाडौंका केही भू–भागमा हल्का वर्षा भएको थियो । तर दिनभर आकाश भने खुल्न सकेन ।
सोमबारको जस्तै आज मंगलबार पनि बिहानैदेखि काठमाडौं उपत्यकामा घाम देखिएन । विहानै देखि चारैतिर हुस्सु लागे जस्तो काठमाडौं धुम्म भएपछि अन्धकारमय भयो । यसरी हुस्सु लागेर घाम नलागे पनि दुई दिनसम्म काठमाडौंको न्यूनतम तापक्रम भने घटेको छैन । बरू पहिलाभन्दा बढेको छ । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

तापक्रम बढ्यो तर काठमाडौंको वायुको प्रदूषण भने ह्वात्तै खतराको सीमा भन्दा माथि पुगेको छ । विश्वका सहरहरु मध्ये वायु प्रदुषणको उच्च जोखिमको पहिलो नम्बरमा काठमाडौं उपत्यका देखिएको छ ।
स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । त्यसैले केही दिन यता काठमाडौंमा यात्रा गर्नेहरु आँखा पोल्ने लगायतका समस्या झेलिरहेका छन् । खासै ठूला उद्योगधन्दा नभएको काठमाडौंमा यति ठूलो प्रदूषण उपत्यकाका जनसंख्या र भू–बनोवटले यस्तो भएको मौसमविद् ऋषिराम शर्मा बताउँछन् ।
काठमाडौंमा पश्चिमी वायुको प्रभावले जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाएकाले यस्तो भएको उनको भनाई छ । काठमाडौं उपत्यका कचौंरा आकार जस्तो भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए । यसले हावा रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए ।
वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ । काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, ०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपदको रुपमा लिने बताएको छ ।
वातावरण विभागले विभागले आज एक विज्ञप्ति जारी गर्दै बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले आमनागरिकलाई अत्यावश्यक नपरी बाहिर ननिस्कन, बुढाबुढी र बालबच्चाको विशेष ख्याल गर्न, सकभर कम गाडी चलाउन, आगो नबाल्न आग्रह गरिएको जानकारी गराए ।
त्यस्तै, काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले सर्तक रहन श्वासप्रश्वास रोग विशेषज्ञ डा.अर्जुन कार्कीले आग्रह गरेका छन् ।





























प्रतिक्रिया