काठमाडौँ ।
काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आइतबार महराको अन्तिम सुनुवाइ शुरु गरी बकपत्रका लागि सो व्यक्ति र विज्ञलाई बोलाउने आदेश भएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
एक महिला कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । सरकारी वकिल र अन्य साक्षीको बयान समाप्त भएपछि अन्तिम सुनुवाइ आइतबारदेखि शुरु भएको हो । बकपत्र गरेर अधिवक्ता र सरकारी वकिलले आआफ्नो बहस गरेपछि अदालतले फैसला सुनाउने छ । महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ । बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।
रासस































प्रतिक्रिया