चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।
चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।

शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् । यस अगाडि तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भएको थियो ।

यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत ५० हजार राहत उपलब्ध गराएको छ । सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई उक्त रकम प्रदान गरे । पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले आग्रह गरे ।

हात्तीबाट लाखौँको क्षति

यता सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार÷पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको सप्तरी प्रहरीले जनाएको छ ।

हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । हात्तीले घर भत्काउँदा भरतको १० हजार, ललनको ७० हजार, सन्तोषको १५ हजार, राजेन्द्रको २० हजार, अशोकको ३० हजार र दिनेशको २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा एक लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा एक लाख बराबरको क्षति भएको छ ।

सीताराम सदाको घर भत्काउँदा एक लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा २०/२० हजार बराबरको क्षति भएको पीडितहरुले बताए ।
रासस

Logo