डरलाग्दो रुपमा बढ्दै घरेलु हिंसाका घटना

डरलाग्दो रुपमा बढ्दै घरेलु हिंसाका घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पछिल्लो समयमा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार कात्तिक महिनामा मात्र एक हजार दुई महिला तथा बालबालिका सम्बन्धी घरेलु हिंसा भएका छन् ।

नेपाल प्रहरी र मन्त्रालयले गरेको अध्ययन अनुसार कात्तिक महिनामा जबर्जस्ती करणीसम्बन्धी १७७ वटा घटना भएका छन् । तथ्याङ्क अनुसार प्रदेशगतरुपमा हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा ३४१ वटा घरेलु हिंसाका घटना भएका छन् । कात्तिक महिनाभरि देशैभरिको तथ्याङ्क हेर्ने हो भने जबर्जस्तीकरणी उद्योग सम्बन्धी ४७, बहुविवाह ७५, बालविवाह पाँच, बोक्सी आरोप चार र अवैध गर्भपतन सम्बन्धी छ घटना भएका छन् ।

प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ । मन्त्रिपरिषद्को बैठकले मङ्सिर ९ देखि मङ्सिर २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मन्त्रालयले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकाय, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडा, सरोकारवाला निकाय, विद्यालय, सामाजिक सङ्घ संस्थालाई आह्वान गरेको थियो ।

मन्त्रालयले ०७६/०७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्षको रुपमा सङ्घ, प्रदेश र स्थानीय तहमा मनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णया अनुसार पाँच वटा प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो । ‘समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ प्रदेश नं ३ अन्तर्गत मङ्सिर २२ गते काठमाडौँमा भव्य कार्यक्रमको समेत आयोजना गरिएको छ ।

सोही अवसरमा सहसचिव शर्माले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्यका लागि शिक्षा मन्त्रालयलगायत सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर स्थलगत अनुगमन गर्ने र समस्याको समाधान गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

Logo