पूर्णप्रसाद मिश्र । सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ ।
छाडा छाडिएका गाईबाच्छालाई गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले गत जेठ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण गरेका थिए ।
आश्रयस्थलमा हाल ४० बाच्छाबाच्छी संरक्षण गरिएको छ । आश्रयस्थलमा १५ बाच्छी र २५ बाच्छा छन् । सडकबाट उठाएर ल्याइएका बिरामी गाईबाच्छाको उपचारको व्यवस्था पनि आश्रयस्थलमा भइरहेको छ ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले अबोध गाईबाच्छा संरक्षणका लागि भवन निर्माण गर्न १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले गाईबाच्छा संरक्षणका लागि नगरपालिकाका तर्फबाट जग्गा उपलब्ध गराउने वचन दिएका छन् । साथै गाईबाच्छा संरक्षणमा उल्लेख्य सहयोग गर्ने दुवै नगर प्रमुखको प्रतिबद्धता थियो । दुवै नगरपालिकाले चालु आर्थिक वर्षमा सो शीर्षकमा बजेट छुट्याइएको जनाएका छन् ।
कागेश्वरी मनोहराले २५ लाख र गोकर्णेश्वरले १२ लाख रुपैयाँ बजेट छुट्याइएको बताएका छन् । छाडा गाईबाच्छाको संरक्षणका लागि थप सहयोग पनि भइरहने दुवै नगरपालिकाको वचनबद्धता छ ।
जन्मदिनमा गाईबाच्छालाई सहयोग गर्ने बढे
जन्मदिनमा केक काट्ने, साथीभाई जम्मा भएर मदिरा पिउने केही मानिसको प्रचलन अब यसरी आश्रय दिइएको गाईबाच्छालाई सहयोग गर्नतिर मोडिएको छ । विभिन्न अवसरमा हुने फजुल खर्च जोगाएर कल्याणकारी काममा लगाउन युवावर्ग अघि सरेका छन् ।
जोरपाटी निवासी सन्तोष बरालले आफ्नो जन्मदिनका अवसरमा रु चार हजार नगद पिठो र औषधिका लागि उपलब्ध गराएका छन् । नयाँ बस्ती युवा क्लबले पीठो, पिना लगायतका खाद्यान्न उपलब्ध गराएको छ ।
डिल्लीबजार निवासी आयुष्का पुडासैनीको जन्मदिनका उपलक्ष्यमा उनका अभिभावकले सात हजार रुपैयाँ उपलब्ध गराएका छन् । यसैगरी समन भट्टराई र रघुनाथ आचार्यले एक एक हजार उपलब्ध गराएका छन् ।
आफ्नो जन्मदिनका अवसरमा स्वामी महेन्द्र भट्टराईले १० हजार रुपैयाँ तथा जन्मदिनकै अवसरमा व्यवसायी रवि भट्टले पाँच हजार रुपैयाँ गाईबाच्छा संरक्षणका लागि उपलब्ध गराएका छन् । आफ्नो जन्मदिनका अवसरमा जोरपाटी नयाँबस्ती निवासी अमृत सापकोटा पिठो र गाई बाच्छाको उपचारका लागि तीन हजार रुपैयाँ सहयोग गरेका छन् ।
जन्मदिनमा गाईबाच्छाका लागि सहयोग गर्नेको नाममा आश्रितको नामकरण गर्ने गरिएको गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएका वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष समेत रहेका पुडासैनीले बताए । गुह्येश्वरीमाथिको वाग्मती सफाइका क्रममा नदी किनारमा मर्ने बाच्छाबाच्छीको सङ्ख्या बढ्न थालेपछि अस्थायी आश्रयस्थल बनाइएको हो । सफाइका क्रममा एक वर्षमै ६०० भन्दा बढी मृत बाच्छाबाच्छी गाड्नुपरेको थियो ।
छाडा छोडेपछि पानी पिउन नपाउने, वाग्मतीको पानी पिए पनि दूषित भएकाले मर्ने, प्लाष्टिक खाएर मर्ने, कुकुरले लखेटेर मार्नेलगायत समस्याले ठूलो सङ्ख्यामा मर्ने गरेको अभियानकर्मीले जनाएका छन् । काठ क्षेत्र रहेको दुवै नगरपालिकामा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि गाई पाल्नेको सङ्ख्या उल्लेख्य छ । गाईपालकले बाच्छी जन्मे घरमै राख्ने बाच्छा जन्मिए सडक, मन्दिर वा नदी किनारमा लगी छाड्ने गरेका छन् ।
तीव्र शहरीकरण एवं स्थान अभावका कारण गाई पाल्न छाड्नेले भने बाच्छी पनि छाड्ने गरेका छन् । त्यसका कारण सडकमा जाम एवं दुर्घटना बढ्ने गरेको छ । रत्नपार्क–साँखु मार्गमा सार्वजनिकयातायात चलाउने चालक रामबहादुर तामाङ गौशाला चोकबाट माथितिर लागेपछि छाडा छाडिएका गाई बाच्छाका कारण समस्या हुने गरेको गुनासो गर्छन् । गाई व्याएपछि सुत्केरी भत्ता दिएर बाच्छाबाच्छीलाई ट्याग लगाउने व्यवस्था गर्न अभियानकर्मी गोविन्द पुडासैनीले दुवै नगरपालिकाका प्रमुखसँग माग गरे । रासस































प्रतिक्रिया