महोत्तरी,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।
यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०/७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।
यसैगरी गोरखापत्र संस्थानका उपसम्पादक (तह–७) पदमा कार्यरत वासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ सेवा प्रवेश गरेको तथा बढुवासमेत भएको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको छ । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि गरेको आयोगको आरोप छ ।
प्रहरी जवान निलम्बित
यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी निलम्बनमा परेका हुन् । उनलाई बैंकबाट रकम कीर्ते गरेको आरोपमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रहरी जवान द्विवेदीले बिहीबार सदरमुकाम जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा आफ्नै नामको तीन हजारको एउटा तथा चार हजारको अर्को चेक सदर गरी पुनः तीन हजारको चेकलाई ३० हजार तथा चार हजारको चेकलाई ४० हजार लेखेर बैंकको काउण्टरबाट ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशङ्कर यादवले बताउनुभयो ।
बैंकमा बिहीबार हिसाब मिलान गर्दा नमिलेपछि सबै चेक जाँच गर्दा द्विवेदीले चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले प्रहरी उपरीक्षक अधिकारीलाई जानकारी गराउनु भएको थियो ।































प्रतिक्रिया