सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये पाँच जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रेकै पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् । अन्य पाँच जनाको भने सनाखत हुन बाँकी छ ।
सिन्धुपाल्चोकको सीपाटारबाट दशैं मनाउन गाउँ गएका यात्रु लिएर बस काठमाडौं जाँदै गरेको थियो । हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सो बस आज दुर्घटना हुँदा अन्य चार दर्जन भन्दा धेरै यात्री घाइते भएका छन् ।

घाइते मध्ये धेरैको अवस्था गम्भिर रहेको र उद्धार जारी रहेको बताइएको छ । घाइतेहरुको काभ्रेको धुलिखेल अस्पताल तथा स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । केहिलाई हेलिकोप्टरबाट राजधानी पठाइएको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको हो ।
प्रदेश तीन सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकप्टर लिएर घटनास्थल पुगेका छन् । घाइतेको उद्धारमा कुनै कमी नराख्न सुरक्षा निकायलाई निर्देशन दिँदै हेलिकोप्टरसहित उनी घटनास्थल पुगेका हुन् । उनले अस्पतालमा पुगेर घाइतेको अवस्था समेत बुझेका छन्। आर्मीको एमआई १७ हेलिकप्टर लिएर उनी दुर्घटनास्थल पुगेका हुन्।































प्रतिक्रिया