बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

केन्द्रबिन्दु
0
Shares

धादिङ,

जिल्लाको सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडितलाई ५० हजार क्षपिूर्तिसमेत दिन योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिनुभयो ।

मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा वि.सं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पतालमा मृत्यु भइसकेको छ । चौध पटकको इजलासमा मुद्दा फैसला भएपछि मृत्यु भएकै भए पनि आरोपितले सजाय पाएको र न्याय मर्दैन भन्ने विश्वास पलाएको अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खतिवडाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता गरेको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताउनुभयो ।

Logo