काठमाडौं ।
देशका विभिन्न ठाउँमा ३ जनाको मृत्यु भएको छ । बाजुरा, बागलुङ र बैतडीमा गरि ३ जनाको मृत्यु भएको हो ।
कठ्याङ्ग्रिएर एकको मृत्यु
बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वर्र्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए। आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उनको भनाइ थियो ।
कालीगण्डकी किनारमा महिलाको शव फेला
यता कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ । शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ । कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।
महिला मृत फेला
यस्तै चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् ।
नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नदीले बगाएर ती महिलाको शव ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।































प्रतिक्रिया