बागलुङका चन्द्र खत्री अष्ट्रेलियाको अस्पतालमा, जीवन रक्षा गर्न अपील

बागलुङका चन्द्र खत्री अष्ट्रेलियाको अस्पतालमा, जीवन रक्षा गर्न अपील

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ। हाल अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी) को जीवन रक्षाको लागि उनको परिवारले आर्थिक सहयोगको याचना गरेको छ। अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बाग्लुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित छन्।

उनलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको क्यान्सर) भएको पुष्टी भएपश्चात परिवारले सहयोगको याचना गरेको हो।

उनकी श्रीमती परिश्मा जंगमका अनुसार यसअघि उनको छोरा किर्तनश्री केसीको ३१ डिसेम्बर २०२३ मा कान्ति बाल अस्पतालमा सात बर्षको कलिलो उमेरमा निधन भएको र हाल श्रीमानको अवस्था जटिल बनेकाले सबैसँग सहयोगको याचना गरेकी हुन्।

किर्तनको विगत पाँच बर्षमा दुई पटक मष्तिष्कको शल्यक्रिया (हेमीस्फेरेक्टोमि) गर्दा पनि रेस्मुस्सेन इन्सेफेलाइटिस (स्नायु केन्द्रित रोग)को कारणले निधन भएको थियो। परिश्मा चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययनरत छिन्।

उनले आफ्नो परिवारमा परेको चरम बज्रपातको संकटको घडीमा सहयोगको लागि याचना गर्न बाध्य भएको बताएकी छन्। खत्रीको उपचारको लागि १ लाख ५० हजार डलर लाग्ने अनुमान गरिएको छ। हाल सम्म ४० हजार डलर जम्मा भइसकेको छ।

परिश्माले आफ्नो अपिलमा भनेकी छन्, ‘एक स्वावलम्बी महिलालाई यसरी हात फैलाएर सहयोगको लागि याचना गर्न निकै कठिन हुँदो रहेछ तर मसंग मेरो श्रीमानलाई बचाउने अरु माध्यम छैन। हामीले हामीसंग भएको लगभग सम्पूर्ण सम्पति पछिल्लो पाँच वर्षमा छोराको उपचारको क्रममा नेपाल र पटक पटक भारतका महंगा अस्पतालहरुमा सकिसकेको हुँदा हाम्रो आर्थिक अवस्थाले मेरो श्रीमानको थप उपचार खर्च जोहो गर्न असम्भव छ।’

‘मेरो विद्यार्थी स्वास्थ्य बिमा (बुपा इन्सुरेन्स) ले मेरो श्रीमानको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको हुँदा उहाँको उपचारमा व्यक्तिगत हजारौ डलर खर्च लाग्छ। उपचारको क्रममा ४ साइकल केमोथेरापी गरि शल्यक्रिया गरी पुनः ४ साइकल केमोथेरापी गर्नुपर्ने योजना मलाई चिकित्सकहरुले जानकारी गराउनु भएको छ।’

‘हामी श्रीमान श्रीमती दुवैजना अष्ट्रेलियाको ओल्ड एज केर होममा कार्यरत थियौं तर छोराको मृत्युपश्चात श्रीमानको बिचल्ली अवस्थाको कारण यस बिपतमा काम गर्न सक्ने अवस्था रहेको छैन। किनभने अस्पताल तथा घरमा २४ घण्टा ७ दिन नै व्यस्त रहनुपर्ने बाध्यता छ,’उनले भनेकी छिन्।

Logo