ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित

ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित

केन्द्रबिन्दु
98
Shares

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन्। चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन्।

फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेका छन्। उनिसँग चिराइतो खेतीको लामो अनुभव छ। विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेका थिए।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्थे। लामो समय चिराइतोको बजार मूल्यमा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताए। लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेका छन्।

फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई अहिले चिराइतो बीउ छर्नमा व्यस्त छन्। उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जमिन तयार गरेकाे राईले बताए।

फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरिसकेका छन्। “चिराइतोको बीउ तयार गरेको छु। अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु।” राईले भने, “एक साल त चिराइतो बिक्री नै भएन। त्यसपछि सबैले खेती गर्न छोडेको थियो। तर यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभए थियो। तर चिराइतो नै गाउँमा खासै थिएन।”

चिराइतोको राम्रो बजार मूल्य आउने सम्भावना देखेर राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती लगाएका थिए। दुई वर्ष अगाडि खेती लगाएको आउँदो कात्तिक महिनामा बिक्री गर्न योग्य हुने राईले बताए। एक अगाडि अर्थ गत वर्ष १६ रोपनी क्षेत्रफल जग्गामा राईले चिराइतो खेती गरेका छन्।

अहिले ३० रोपनी क्षेत्रफल जमिनमा चिराइतो खेती गर्न लागेको हो। ३० रोपनी क्षेत्रफलमा जमिनमा २४ माना चिराइतोको बीउ लगाउने राईले बताए। चिराइतो छरेको मितिदेखि २७ महिनामा बिक्रीयोग्य हुने राईले बताए।

राईले भने, “अहिले लगाएको चिराइतो अबको २७ महिनामा ४० देखि ४५ मनसम्म चिराइतो उत्पादन हुने आशा गरेको छु”, केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल पर्ने किसानको भनाइ रहेको छ। विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको किसान भनाइ रहेको छ।

फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोडेकाे चार वर्ष भयो। तर अहिले चिराइतो खेती गर्नका लागि आठ रोपनी जमिन तयार गरेका छन्।

“दुई सालयता चिराइतोको बजार मूल्य राम्रो आएको छ। गाउँमा अहिले सबैले चिराइतो खेती गर्ने तयारीमा छन्। फेरि बजार मूल्य घट्ने हो कि चिन्ता भइरहेको छ”, आङबोहाङले भने,“अहिले बजार मूल्य राम्रो आएकाले उत्साहित भएर गाउँका प्रायः किसान चिराइतो खेती गर्न लागेका छन्।”

चिराइतो छर्ने सुरु भएको छ। चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ। त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ। आगो लगाएको ठाउँमा दुई चार दिनपछि चिराइतो छर्नुपर्दछ। चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन्। मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन्।

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानहरुले चिराइतो खेती गर्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष चिराइतो उत्पादन हुने क्षेत्रभित्र पर्दछ। केही वर्ष चिराइतो बिक्री हुनै मुस्किल भएपछि खेती गर्न छोडेका किसान अहिले धमाधम चिराइतो खेती गर्न थालेका छन्।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो। जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ।

तुलनात्मक रुपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ। वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ। डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार आव २०७८-७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो।

यस्तै आव २०७९-८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ। अघिल्लो दुई वर्षभन्दा पछिल्लो अर्थात् यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिए।

विगत २०७० यता दश वर्षको समय अवधिमा ताप्लेजुङ जिल्लाबाट ३८ हजार केजी चिराइतो सङ्कलन भएको डिभिजन वन कार्यालयको तथ्यांकले जनाएको छ। दश वर्षको अवधिमा सबैभन्दा बढी चिराइतोबाट राजस्व सङ्कलन भएको छ। दश वर्षको समयमा चिराइतोबाट रु सात लाख ९६ हजार ६३६ राजस्व सङ्कलन भएको छ।

Logo