कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

कालीगण्डकीको ‘स्टिमर’मा बुद्धिचाल प्रतियोगिता सुरु

केन्द्रबिन्दु
28
Shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीमुहानमा मोटरबोट (स्टिमर)मा आजदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

धार्मिक महत्व बोकेको कालीगण्डकी र आँधीखोलाको सङ्गमस्थल आँधीमुहानमा सञ्चालित देशकै पहिलो मोटरबोट (स्टिमर) मा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । खेलकुदका माध्यमबाट यहाँको धार्मिकस्थलहरुको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गन स्टिमरमा प्रतियोगिता सञ्चालन गरिएको उनको भनाइ छ ।

“पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको बुद्धिचाल प्रतियोगिता गाउँपालिकामा आयोजना गर्नुको मुख्य उद्देश्य नै खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने हो”, अध्यक्ष थापाले भने, “बौद्धिक क्षमताको विकासमा मद्दत पु-याउने भएकाले पनि यसलाई प्राथमिकताका साथ अगाडि बढाएका हौँ ।”

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्ला र आयोजकका रुपमा रहेको कालीगण्डकी गाउँपालिका गरी नौ टोलीका ३६ जना सहभागी भएका प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्ला–जिल्लामा रहेका बुद्धिचाल सङ्घको सिफारिसका आधारमा प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला गरी चारजना खेलाडी सहभागी भएका हुन् ।

प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले रु तीन लाख र गण्डकी प्रदेश खेलकुद परिषदले रु तीन लाख रकम विनियोजन गरेका छन् ।

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थल आँधीमुहानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका लेखा समिति सभापति सुधीरकुमार पौड्यालले उद्घाटन गरे । खेलकुदका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

“कालीगण्डकी क्षेत्रको आर्थिक, धार्मिक, पर्यटकीय एवम् सांस्कृतिक महत्वको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका यस प्रतियोगिताले गर्नेछ”, लेखा समिति सभापति पौड्यालले भने ।

उक्त परियोजनाले बाँध बाँधेपछि निर्माण भएको कृत्रिम जलाशयमा स्टिमर सञ्चालन हुँदै आइरहेको छ । बाँधस्थलबाट करिब सात किलोमिटर टाढासम्म जलाशय रहेको छ । स्याङ्जाको आँधीमुहानमा रहेको जलाशयमा सञ्चालन हुँदै आएको स्टिमरबाट स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा रहेको सेतीवेणी शिलासम्म सहजरुपमा यात्रा गर्न सकिन्छ । कुनै बेला यात्रु तथा सामान ढुवानीको मुख्य साधनका रुपमा स्थापित भएको स्टिमर सेवा अहिले कालीगण्डकी कोरिडोर खुलेसँगै प्रभावकारी हुँदै जान थालेको छ ।

Skip This
Logo