६ वर्षसम्म पनि नसकिएको कात्तिकेघाट पुलको काम अब कहिले सकिएला ?

६ वर्षसम्म पनि नसकिएको कात्तिकेघाट पुलको काम अब कहिले सकिएला ?

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमा निर्माणाधीन कात्तिकेघाट जोड्ने पक्की पुलको काम समयमै सक्न सकस परेको छ । निर्माण कम्पनी बीएलटी कन्स्ट्रक्सनले उक्त पुलको चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिममा सक्ने लक्ष्य लिए तापनि काम भने नसकिने भएको हो ।

वि.सं. २०७४ मंसिरमा ठेकेदार कम्पनीसँग सम्झौता निर्माण कार्य अगाडि बढेको झण्डै ७ वर्ष पुग्न लाग्दासमेत पुल बनि नसक्दा स्थानीयले सास्ती भोगिरहेका छन् । खोलामा पानीको वहाव बढ्दै जाँदा अहिले पुल निर्माणको काम पनि रोकिएको बताइएको छ ।

चैत्र (२०८०) बाट नै पुलको तेस्रो स्पामको काम रोकिएको बीएलटी कन्स्ट्रक्सनका सञ्चालक तथा आयोजना प्रमुख तीर्थराम खड्काले जानकारी दिए । ‘यो पुल निर्माण गर्दा तीनवटा स्पाम तयार गर्नुपर्ने हुन्छ, जसमध्ये अहिलेसम्म दुई वटा स्पामको काम सकिएको छ, खोलामा पानीको वहाव बढ्दै कारणले अर्को स्पामको काम रोकिएको हो, बर्खा सकिने बित्तिकै उक्त स्पामको कार्य अगाडि बढ्छ,’ उनले केन्द्रबिन्दुसँग भने ।

स्पामको काम सकिएको ठाउँमा हाल फिनिसिङको लगायतका काम भइरहेको खड्काको भनाइ छ । निर्माण कम्पनी बीएलटी कन्स्ट्रक्सनसँग उक्त पुल निर्माण गर्नको लागि १६ करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का पाएको एक वर्षपछि पुलको डिजाइन स्वीकृत गरी पुलको काम गर्न सुरु गरिएको थियो ।

पुल निर्माण अगाडि बढाउँदा विभिन्न समस्या आएका कारण समय लम्बिएको र काम ढिलाइ भएको खड्काले बताए । ‘पुलको पिल्लर राख्ने बेलामा पायलमा समय बिताउनुपर्यो, त्यसको लागि ठूलो खर्च पनि भयो, अरुण नदीभित्रको कडा ढुङ्गा अनि हामीसँग भएको मेसिनले काम नगरेर अर्को मेसिन मगाएर काम गर्दा ढिला भएको हो,’ खड्काले भने ।

खड्काका अनुसार कोभिड–१९ का कारणले गर्दा पनि पुल निर्माणमा ढिलाई हुँदा उत्साहजनक प्रगति नभएको हो ।

अहिलेसम्म पुलको भौतिक प्रगति करिव ८४ प्रतिशत रहेका खड्काले बताउँदै करिव १२ करोड रुपैयाँ कम्पनीलाई भुक्तानी भइसकेको पनि बताए । ‘अरुण खोलामा पुल निर्माण गर्न निकै चुनौती पूर्ण छ, पर्याप्त स्रोत साधन उपलब्ध नहुँदा पुल निर्माणको काममा ढिलाई भयो,’ उनले भने ।

खड्काले काम ढिला भए पनि अहिले भने पुलको भौतिक प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।

अब कहिले सकिएला ?

कात्तिकेघाट पुल निर्माणको कार्य चालु आर्थिक वर्षभित्रै सक्ने ठेकेदार कम्पनी आफैले लक्ष्य लिएको थियो । तर, यो आर्थिक वर्षमा भने पुलको काम सकिँदैन । निर्माण कार्य सम्पन्न गर्ने मिति सर्दै आएका कारण पुलको काम अहिले नै सकिन्छ भन्ने टुङ्गो छैन । यद्यपि आयोजना प्रमुख खड्का अब भने पुलको काम आगामी आर्थिक वर्ष २०८१/८२ भित्र सकिने दाबी गर्छन् ।

खड्का अनुसार आउँदो वर्षको माघ वा फागुनमा पुल निर्माणको कार्य सकिने छ । उक्त ठाउँमा पुल बन्दा ठूला सवारीका आवतजावत समस्या भएको छ । पुल निर्माण भएपश्चात् आवत जावतमा सहज हुनुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा लिइएका स्थानीयले पुल समयमै बनिनसक्दा समस्या भएको बताउँछन् ।

Skip This
Skip This
Logo